बाजुरा । बाजुराको साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गास्थित बुढीगंगा नदीमा प्रयोगविहीन अवस्थामा रहेको बेलीब्रिजलाई कोल्टीको दानसाँघु खोलामा स्थानान्तरण गर्ने कार्य सुरु गरिएको छ। पछिल्लो पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुललाई करिब २ करोड २२ लाख रुपैयाँको लागतमा स्थानान्तरण गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय अछामका अनुसार, जडाङ्गामा पक्की पुल निर्माण भएपछि सो बेलीब्रिज काम नलाग्ने अवस्थामा थन्किएको थियो। अहिले उक्त पुललाई खोलेर मार्तडी–कोल्टी सडक अन्तर्गत बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा जडान गर्ने तयारीका साथ ढुवानीको काम भइरहेको छ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले यो पुल स्थानान्तरण भएपछि बाजुराको पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहका साथै छिमेकी जिल्ला हुम्ला र मुगुका बासिन्दालाई समेत आवतजावतमा ठूलो राहत पुग्ने बताएका छन्।
नगर प्रमुख बोहराको पहल र सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा यो योजना अघि बढेको हो। विगतमा पक्की पुल नहुँदा जडाङ्गामा सेवा दिएको यो बेलीब्रिज अब दुर्गम क्षेत्रको यातायात सहज बनाउन सहयोगी हुने विश्वास लिइएको छ।