काठमाडौँ। १६ वर्षिया इनिशा विक हत्या प्रकरण अब अदालत प्रवेश गर्न लागेको छ। बुधबार प्रहरीले दुई साता लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर आइतबार अदालतमा अभियोगपत्र पेश गर्ने तयारी गरेको जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाका अनुसार, प्रतिवेदनमा इनिशाका प्रेमी भनिएका अनमोल गौलीसहित अन्य तीन जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्तीकरणी सम्बन्धी मुद्दा चलाउन माग गरिएको छ। तर अनुसन्धानबाट सामूहिक बलात्कारको प्रमाण फेला परेको छैन। फागुन २३ गते बिहान विद्यालयको क्रियाकलापमा जाने भन्दै घरबाट निस्किएकी इनिशा दुई घण्टापछि वीरेन्द्रनगर नजिकैको सामुदायिक जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्। अस्पताल पुर्याउँदा उनलाई मृत घोषित गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मुख्य अभियुक्त अनमोल गौलीले आफू र इनिशाबीच सहमतीपूर्वक शारीरिक सम्पर्क भएको बताएका छन्। अत्यधिक रक्तश्रावपछि इनिशा बेहोस भएकी थिइन्। घटनामा संलग्न अन्य तीन जनालाई कर्तव्य ज्यानको मुद्दामा समावेश गरिएको छ। इनिशाको परिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै शव बुझ्न मानेका छैनन्, र न्याय सुनिश्चित गर्न सडकमा प्रदर्शन समेत जारी छ। प्रहरीले घटनामा प्रयोग भएका मोबाइल, भजाइनल स्वाब, टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण गरी प्रतिवेदन तयार गरेको छ। प्रमुख अभियुक्तका बयान, सीसीटीभी फुटेज र वैज्ञानिक प्रमाणहरूको आधारमा अनुसन्धान पूरा भएको बताइएको छ। अब अदालतमा प्रतिवेदन पेश भएलगत्तै प्रकरणको न्यायिक प्रक्रिया सुरु हुनेछ।