काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौंडाका अधिकृत र एक जना बिचौलिया विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सवारी सरुवा सहमतिका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
घटनाको विवरणजिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छैटौं तहका अधिकृत अमृत भेटुवालले सवारी सरुवा सहमति गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना आयोगलाई प्राप्त भएको थियो । सोही सूचना एवं उजुरीका आधारमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेललाई सेवाग्राहीबाट रू. ११ हजार ५०० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको निष्कर्षअख्तियारको अनुसन्धानका क्रममा अधिकृत अमृत भेटुवाल र बिचौलिया खगेन्द्र पौडेलको आपसी मिलेमतो र योजनामा उक्त रकम लिइएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ । आयोगका अनुसार प्रतिवादीहरूले पूर्वयोजना बमोजिम नै ११ हजार ५०० रुपैयाँ घुस÷रिसवत लिएको पुष्टि भएको छ ।मागदाबी र सजायआयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरेको छः ।
कार्यलयका अधिकृत अमृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ११ हजार ५०० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ । भने, बिचौलिया खगेन्द्र पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रू. ११,५०० कायम गरी कैद र जरिवाना सजाय हुन माग गरिएको छ ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अनुसन्धान प्रक्रिया पूरा गरी आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।