काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको बिदाइ गरिएको छ । बिहीबार नवनियुक्त सांसदहरूले शपथ लिएसँगै मन्त्री सिन्हाले मन्त्री पद छोडेका हुन् । जेन्जी सरकारको मागमा सुशीला कार्की नेतृत्वमा रहेका सिन्हालाई बिहीबार औपचारिक कार्यक्रमका साथ बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा मन्त्री सिन्हाले कर्मचारीहरू भनेको देशको सम्पत्ति र देश विकासको माध्यम भएको र यसलाई सही दिशामा आगामी दिनमा राजनीतिक नेतृत्वले परिचालन गर्नुपर्ने बताए । उनले उक्त मन्त्रालयमा रहँदा जे जति काम गर्न सकियो त्यो आफूले मात्र नभई समग्र मन्त्रालयका कर्मचारीकै कारणले भएकोले कर्मचारीहरूको प्रशंसा गरे । मन्त्री सिन्हाले न्यायपालिका, कार्यपालिकाको अनुभव लिएको स्मरण गर्दै विधेयक उपर राष्ट्रिय सभामा छलफलमा गै व्यवस्थापिकाको समेत अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको बताए।
साथै उनले भदौ २३ र २४ गते सहादत प्राप्त गर्ने सहिदहरूको सम्मान स्वरूप आफूहरूले आमनिर्वाचन गर्ने जिम्मा पुरा गरेको र अब जेन्जी आन्दोलनको मर्म र भावना अनुकूल सेवा नयॅा सरकारको रफ्तार बमोजिम सम्पन्न गर्नुपर्ने धारणा राखे । मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्री सिन्हाले १०५ दिनमा गरेका महत्त्वपूर्ण निर्णय बारे चर्चा गरेका थिए ।