काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा जिल्ला प्रशासन काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् ।
जाँचबुझ आयोगसमक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश नदिएको उल्लेख गरेका छन् ।
बाहिर आएको प्रतिवेदनमा उल्लेखित बयान अनुसार, उनले बरु प्रहरीको रेडियो सेटमा तत्कालीन प्रहरी महानिरीक्षक र काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले ‘आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नू’ भन्ने आदेश आफूले सुनेको बताएका छन् ।