काठमाडाैँ । रुकुम (पूर्व) को विकट क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका–२, पेल्मा इलाकामा नेपाली सेनाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चण्डीदल गणको आयोजनामा भएको उक्त शिविरबाट करिब २५० जना स्थानीय बासिन्दाहरू लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।
चैत्र १० गते सञ्चालित उक्त शिविर नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, पुथाउत्तरगंगा गाउँपालिका र स्थानीय स्वास्थ्य संस्थाहरूको प्राविधिक सहकार्यमा सम्पन्न भएको हो । उक्त स्वास्थ्यय शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसहित कुल २५० जना सेवा लिएका छन्।
विकट भौगोलिक अवस्थाका कारण नियमित स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका पेल्माबासीहरूले गाउँमै विशेषज्ञ सेवा पाएपछि खुसी व्यक्त गरेका छन् । सेनाले नागरिक–सैनिक सम्बन्धलाई प्रगाढ बनाउन तथा मानवीय सेवाका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।