काठमाडौँ। इटहरीस्थित एक क्याफेमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपको भान्साबाट आगो सुरु भएको प्रहरीले जनाएको छ।
मर्मत कार्यका क्रममा निस्किएको आगोको झिल्को भान्सामा परेर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। आगो नियन्त्रणका लागि सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचाबाट दमकल परिचालन गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो। इटहरी उपमहानगरपालिकाको आफ्नै दमकल यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट सहयोग लिनुपरेको बताइएको छ। आगलागीका कारण क्याफेको भान्सा, उपकरण तथा सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।