काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगै विभागस्तरीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमन सुरु गरेकी छन्। मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो।
अनुगमनको क्रममा डेस्कमा कार्यरत अधिकारीहरूले गरिरहेको काम, प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, देखिएका चुनौती र अनुभव गरिएका समस्याहरूको विवरण कार्यवाहक प्रमुख डंगोलले लिएकी थिइन्। विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, विश्लेषण प्रक्रिया, भण्डारण क्षमता तथा सार्वजनिक गर्नु पर्ने सूचना र विवरणहरूको स्वतः वितरणसम्बन्धी जानकारी पनि उनले मागिन्।
यस क्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिहरूको बारेमा जानकारी दिँदै, पूर्वमा तयार भएका प्रणालीहरूलाई एकीकृत गर्ने, डाटा सेन्टर सञ्चालन गर्ने, विद्यालयमा इहाजिरी कार्यान्वयन गर्ने, सिसिटिभी जडान तथा इहाजिरी, ईशिफारिस र ई टिप्पणीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम प्राथमिकतामा रहेको जानकारी गराइन। महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङसम्बन्धी प्रणालीका बारेमा जानकारी दिइन्।
जग्गा प्रशासन कार्यान्वयन चरणमा छ भने घर नम्बरिङ्का लागि डेक्समा गरिने काम करिब ३० दिनभित्र सम्पन्न हुने चरणमा छ। त्यसैगरी सूचना प्रविधि अधिकृत माधव खनालले सफ्टवेयर डिभलपमेन्ट एन्ड अपरेसन सेन्टरमा भइरहेको कामको विवरण प्रस्तुत गरे। यस अनुगमनले विभागीय कार्य सम्पादन प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउने उद्देश्य राखेको छ।