काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको सरकार निर्वाचन सम्पन्न गराएर बिदा हुने क्रममा छ । यसै क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा बुधबार बिदा भएका छन् ।सिन्हाले आफ्नो कार्यकालमा सुशासन, नीतिगत सुधार, लगानी प्रवर्द्धन तथा सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् । सोही अवधिमा मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री सिन्हा कार्यकाल पूरा गरी बिदा भएका हुन् ।
बिदाइ कार्यक्रममा उनले कार्यकालभर सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्न तत्काल सुधार कार्ययोजना कार्यान्वयनमा ल्याइएको, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गरिएको र सुशासन मार्गचित्र तयार गरिएको जनाए ।
विद्युतीय व्यापारसम्बन्धी निर्देशिका जारी गर्नुका साथै औद्योगिक नीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि तथा राष्ट्रिय रणनीति कार्यान्वयनलाई व्यवस्थित बनाउँदै मन्त्रालयले अनुगमन प्रणाली सुदृढीकरण, डिजिटल प्रणाली विस्तार र सार्वजनिक संस्थानहरूको प्रभावकारिता सुधारमा जोड दिएको जनाए ।औद्योगिक तथा लगानी क्षेत्रमा विदेशी लगानीको स्वचालित मार्गमा लगानी सीमा हटाउनु महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको उनको भनाइ छ । यस अवधिमा १३ हजार ८८७ कम्पनी दर्ता हुँदा एक हजार ३६३ खारेज भएका छन् ।
७८१ उद्योग दर्ता भई करिब १३० अर्ब लगानी प्रस्ताव गरिएको छ । त्यस्तै, ४७५ विदेशी लगानी परियोजना स्वीकृत भई ३९ अर्बभन्दा बढी प्रतिबद्धता आएको छ । उद्योग विभाग, कम्पनी रजिष्ट्रार र वाणिज्य विभागबीच डिजिटल अन्तरआवद्धता विस्तार तथा सेवा प्रवाहलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने कार्य पनि अगाडि बढाइएको छ ।
उद्यमशीलता र स्टार्टअप प्रवर्द्धनतर्फ विभिन्न कार्यविधि जारी गर्दै व्यवसाय संवर्द्धन केन्द्र स्थापना, स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन र ‘मेक इन नेपाल’ अभियानमार्फत स्वदेशी उत्पादन प्रवर्द्धन गरिएको छ। सातै प्रदेशमा प्रविधि हस्तान्तरण कार्यक्रम विस्तार, उद्यमी अभिमुखीकरण तथा महिला उद्यमीलक्षित कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
वाणिज्य क्षेत्रमा आयात–निर्यात प्रणालीलाई डिजिटल बनाउँदै व्यापार सहजीकरणमा प्रगति गरिएको छ । भारत, चीन, बंगलादेशलगायत मुलुकसँग व्यापार सहकार्य सुदृढ बनाइएको छ । पारवहन सन्धि संशोधन, व्यापार नीति समीक्षा तथा विश्व व्यापार संगठनमा सक्रिय सहभागिता जनाइएको छ । सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरूको पुनर्निर्माण र आधुनिकीकरण गरी सञ्चालनमा ल्याइएको छ। आपूर्ति व्यवस्थापनतर्फ चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, दुर्गम क्षेत्रमा नुन ढुवानी सेवा, पेट्रोलियम पदार्थको सहज आपूर्ति र बजार अनुगमनलाई प्रभावकारी बनाउने काम गरिएको मन्त्रालयले जनाएको छ ।
समग्रमा जेनजी आन्दोलनपछि गठन भएको सरकारले छोटो अवधिमै सुशासन, डिजिटल रूपान्तरण, औद्योगिक विकास र व्यापार सहजीकरणमा आधारभूत सुधारहरू अघि बढाएको दाबी गरिएको छ । निर्वाचन सम्पन्न गरी सरकार बिदा हुने चरणमा पुगेको अवस्थामा मन्त्रालयले यी उपलब्धिलाई आगामी सरकारका लागि आधार तयार पार्ने प्रयासका रूपमा रहेको जनाए ।