वीरगंज । पत्रकार स्व।सुर्दशनराज पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार बुधवार एक समारोहबिच वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिएको छ । २५ हजार राशिको उक्त पुरस्कार पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य सांसद हरि पन्तले प्रदान गरेका हुन ।
पुरस्कार बिरतण समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले पर्साको पत्रकारिताका धरोहर वरिष्ठ पत्रकार गौतमलाई सम्मान गर्न पाउँदा आफूलाई समेत आत्म गौरवको बोध भएको बताए । उनले नेपाली पत्रकारिताको विकासकालागि गौतमको योगदान महत्त्वपूर्ण रहेको बताए । स्व. पाण्डेलाई स्मरण गर्दै पन्तले पत्रकारिताको सिद्धान्त अनुरूपको पत्रकारिता पाण्डेले गरेको बताए । उनले भने “पाण्डे दाइ जहिले पनि प्रतिपक्षी भूमिकामा रहनु भयो मलाई लाग्छ पत्रकारिताको मूल मर्म पनि यही हो” ।
तिनै पत्रकारको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारको राशिलाई बढाउनका लागि आवश्यक पहल लिन समेत उनले अपिल गरे । सम्मानित वरिष्ठ पत्रकार गौतमले सुर्दशन पाण्डे सदैव हाँस्ने तर पत्रकारिता आधारभूत सर्तसँग सम्झौता नगरी प्रकाशनमा ल्याउने काम गर्ने निर्भीक पत्रकारको रुपमा सम्झना गरिरहनु पर्ने व्यक्ति भएको बताए । उनले पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार आफूलाई दिइएकोमा धन्यवाद ज्ञापन गरे ।
नेपाल पत्रकार महासङ्घ पर्साको सचिव समेत भएका पाण्डेको ०८१ भदौमा निधन भएको थियो । स्व।पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले स्थापना गरेको पुरस्कार प्रथम पटक वितरण भएको हो । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक के।सी।लामिछाने,पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेशका अध्यक्ष हरि पन्त सामाजिक अभियन्ता कमल चौगाई लगायतले पुरस्कृत गौतमको व्यक्तित्वका बिषयमा चर्चा गरेका थिए ।