काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले अब कास्की जिल्ला अदालतमा नियमित रूपमा तारिख धाउनु नपर्ने भएको छ । मंगलबार कास्की जिल्ला अदालतले लामिछानेको मागबमोजिम नै उनलाई तारेखबाट उन्मुक्ति दिने आदेश जारी गरेको हो ।
जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले लामिछानेलाई तारेख बाहिरै बसेर मुद्दा लड्न पाउने गरी निवेदनउपर सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । लामिछानेले आइतबार आफूलाई नियमित उपस्थितिको झन्झटबाट मुक्त गरिपाऊँ भन्दै अदालतमा निवेदन पेस गरेका थिए ।
अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार अब उनले प्रत्येक महिना अदालत पुगेर हाजिर हुनुपर्ने बाध्यता हटेको छ । यद्यपि, मुद्दाको सिलसिलामा थप प्रमाण बुझ्नुपरेमा वा अदालतले अनिवार्य ठानेर बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने सर्त यथावत् राखिएको छ ।