काठमाडौँ । पाँचथर र ताप्लेजुङ जिल्लामा निर्माणाधीन दुई वटा पुल गएरातिको बाढीका कारण भत्किएका छन्। पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवा खोलामा निर्माण भइरहेको करिब ४० मिटर लामो पुल बाढीले क्षतिग्रस्त बनाएर भत्काएको हो।
त्यस्तै, ताप्लेजुङको नेरुवा खोलामा निर्माणाधीन ३५ मिटर लामो पुल पनि बाढीले भत्काएको सम्बन्धित निकायले जनाएको छ। प्राविधिकहरूका अनुसार बाढीले खोलाको सतह गहिरो बनाउँदै पुलका टेका (सपोर्ट) र फर्मामा क्षति पुर्याएपछि संरचना ढलेको हो। मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने मेवा खोलाको पुल निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भइसकेको अवस्थामा थियो। उक्त पुल दुई वर्षअघि बगेपछि पुनः निर्माण सुरु गरिएको थियो। करिब ७ करोड ७६ लाख रुपैयाँ लागतमा सरोज निर्माण सेवाले ठेक्का लिएर काम अघि बढाइरहेको थियो।
आयोजना प्रमुख सञ्जय मिश्रका अनुसार केही दिनअघि मात्र ढलान सम्पन्न गरिएको थियो, तर प्राकृतिक विपत्तिका कारण पुल भत्किएको हो। पुल नहुँदा उत्तरी क्षेत्रका स्थानीय बासिन्दाले आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। यसैगरी, ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेको पुल पनि अन्तिम चरणमा पुगेको थियो। पूर्वाधार कार्यालयका प्रमुख कुमार कर्णका अनुसार ढलानपछि आवश्यक प्रक्रिया पूरा गर्न नपाउँदै आएको बाढीले पुलमा क्षति पुर्याएको हो। करिब ७ करोड ४७ लाख रुपैयाँ लागतमा सञ्जिव निर्माण सेवाले उक्त पुल निर्माणको जिम्मा लिएको थियो। केही साताभित्र सञ्चालनमा ल्याउने तयारी रहे पनि बाढीका कारण काम अवरुद्ध भएको छ। दुवै पुलमा भएको क्षतिपछि पुनः निर्माण प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सम्बन्धित निकायले मूल्याङ्कन सुरु गरेको जनाएको छ।