काठमाडौँ। रामेछाप उद्योग वाणिज्य संघ को आगामी निर्वाचनमा अध्यक्ष पद बाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ। निर्वाचन समितिका अनुसार १५ सदस्यीय कार्यसमितिमा अध्यक्षबाहेक अन्य सबै पदमा एकल उम्मेदवारी परेकाले ती पदहरूमा स्वतः चयन भएको हो।
अध्यक्ष पदका लागि भने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। अध्यक्ष पदमा वर्तमान महासचिव कुमार श्रेष्ठ स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। उनका प्रतिस्पर्धीका रूपमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ रहेका छन्। निर्विरोध चयन भएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष आकाश रिजाल, वाणिज्य उपाध्यक्ष सुरेश उदास, उद्योग उपाध्यक्ष राम सुदिश शाह सोनार, महासचिव यज्ञप्रसाद सुवेदी, सचिव सिताराम लोहार र कोषाध्यक्ष झनकबहादुर बुढाथोकी उत्तम रहेका छन्।
त्यसैगरी, वासुदेव फुयाँल आजीवन सदस्यमा पुनः चयन भएका छन् भने महिला सदस्यमा मञ्जु माझी निर्विरोध भएकी छन्। खुला सदस्यतर्फ श्यामकुमार श्रेष्ठ, किशोर पौडेल, सुरोजकुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ चयन भएका छन्। यसपटक पहिलोपटक समावेश गरिएको एसोसियट सदस्यतर्फ टिकाराज आरण पनि निर्विरोध रूपमा कार्यसमितिमा प्रवेश गरेका छन्। संघको १५औँ वार्षिक साधारणसभा चैत १९ गते र ९औँ जिल्ला अधिवेशन तथा निर्वाचन चैत २० गते हुने तय गरिएको छ। अध्यक्ष पदमा हुने प्रतिस्पर्धालाई संघको आगामी नेतृत्व चयनका लागि विशेष चासोका साथ हेरिएको छ।