काठमाडौँ । बर्डफ्लु लागेका ६ हजार कुखुरा नष्ट गरिएको छ । विराटनगर महानगरपालिका-४, जोला टोलस्थित दाहाल कृषि फार्ममा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट गरिएको हो । विराटनगर महानगर पशुपन्छी विकास शाखा प्रमुख हिरालाल यादवका अनुसार सोमबार राति अबेरसम्म नष्ट गर्ने प्रक्रिया सुरु गरी मंगलबार बिहानदेखि १५ जनाको टोली खटिएको छ।
उनका अनुसार दुई वटा भौतिक संरचनामा सञ्चालनमा रहेका कुखुरा सबै नष्ट गरिएको हो। मरेका कुखुरा नष्ट गर्न चूना र अन्य औषधि प्रयोग गरी ६ फिटभन्दा बढी गहिरा ५ वटा खाल्डा खनेर पुरिएको प्रमुख यादवले जानकारी दिए। विगत ६ वर्षदेखि सञ्चालनमा रहेको फार्ममा बर्ड फ्लुका कारण १ करोड रुपैयाँभन्दा माथिको क्षति भएको सञ्चालकको भनाई छ ।