काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा गम्भीर असन्तोष व्यक्त गरेको छ। संगठनले प्रतिवेदन लुकाएर राख्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनका सिद्धान्तविपरीत भएको आरोप लगाएको छ।
मंगलबार जारी प्रेस वक्तव्यमा मुभमेन्टले भन्यो, “देशको राजनीतिक नयाँ दिशानिर्देशनमा विश्वास गरिएको उक्त प्रतिवेदन लुकाइराख्नु स्वीकार्य होइन।” आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाएको र सत्यतथ्य सार्वजनिक गर्न नागरिकलाई वञ्चित गरिएको दाबी संगठनले गरेको छ। जेनजी मुभमेन्ट नेपालले सरकारलाई १३ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। समयसीमा भित्र माग पूरा नभए शीतल निवास घेराउलगायत सशक्त आन्दोलन गर्ने चेतावनी पनि जारी गरिएको छ। वक्तव्यमा भनिएको छ कि आन्दोलनका क्रममा उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी सरकारले आफैंले लिनुपर्नेछ। संगठनले लोकतान्त्रिक मूल्य–मान्यता र जनअधिकारको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहने र आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी दिएको छ।