काठमाडौँ । जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सका सदस्यहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन्। जेन–जी आन्दोलनको छानबिनका लागि गौरी बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसके पनि हालसम्म सार्वजनिक नगरिएको भन्दै दबाब सिर्जना गर्न धर्ना दिइएको हो।
मंगलबार जनकपुरधामको जनक चोकमा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध जनाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। जेन–जी आन्दोलनपछि बनेको सरकारको मुख्य जिम्मेवारी आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको जेन–जी मुभमेन्ट अलायन्सकी धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले बताइन्। तर लामो समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरिनु गलत भएको उनको भनाइ छ। उनले सरकारले दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि नबढाएसम्म आन्दोलनको औचित्य नै कमजोर हुने चेतावनी दिइन्। साथै, प्रतिवेदन सार्वजनिक नभएसम्म देशभर शान्तिपूर्ण धर्ना र प्रदर्शनलाई निरन्तरता दिने पनि उनले जानकारी दिइन्। जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौँसहित विभिन्न सहरहरूमा यसअघि देखि नै निरन्तर प्रदर्शन गर्दै आएको छ।