काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ पुनः निर्विरोध चयन भएका छन्।
मध्यपूर्व क्षेत्र, विशेषगरी युएईमा लामो समयदेखि व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी र परिणाममुखी नेतृत्वका रूपमा चिनिन्छन्। जि सिडी ग्रुपका अध्यक्षसमेत रहेका उनले साधारण सदस्यबाट सुरु गरेको संगठनात्मक यात्रा एनसीसी युएईको अध्यक्ष हुँदै क्षेत्रीय र अन्तर्राष्ट्रिय तहसम्म विस्तार गरेका हुन्। निर्वाचनपछि श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक–हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले द्वन्द तथा विभिन्न समस्यामा परेका कामदारको उद्धार, राहत र सहयोगका लागि आपत्कालीन राहत कोष स्थापना गर्ने योजना अघि सारेका छन्।
उनका अनुसार उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानुनी समस्या वा अन्य संकटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहयोग प्रदान गरिनेछ। त्यसैगरी, मध्यपूर्व क्षेत्रमा देखिएको संगठनात्मक विभाजन अन्त्य गर्दै विद्यमान दुई एनसीसी संरचनालाई एकीकृत गरी बलियो र प्रभावकारी संगठन निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन्। एनआरएनएको १२औँ एकता महाधिवेशनमार्फत निर्विरोध चयन भएका श्रेष्ठको नेतृत्वलाई श्रमिक केन्द्रित नीति, संगठनात्मक एकता र प्रभावकारी कार्यान्वयनतर्फ नयाँ सुरुआतका रूपमा हेरिएको छ। उनले अघिल्लो कार्यकालमा अधुरा रहेका कामहरू यसपटक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।