काठमाडौँ । काठमाडौँ नगर शिक्षा समितिले शैक्षिक तथा प्रशासनिक व्यवस्थालाई थप व्यवस्थित बनाउन ६ वटा कार्यविधि तर्जुमा गर्ने विषयमा सैद्धान्तिक सहमति दिएको छ।
समितिका अध्यक्ष तथा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बसेको बैठकमा २०७४ सालयता भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको हो। बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले विगत आठ वर्षका प्रमुख निर्णय र तिनको कार्यान्वयनबारे प्रस्तुतीकरण गरेका थिए। समीक्षाका क्रममा महानगरलाई साक्षर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीका विधान प्रमाणित गर्ने अधिकार शिक्षा अधिकारीलाई दिने, तहगत प्रधानाध्यापक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागलाई दिने लगायत निर्णय कार्यान्वयनमा रहेको जानकारी दिइयो। कक्षा १ सञ्चालन अनुमति नदिने तथा विद्यालयका नामपट्टिका नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा राख्ने निर्णय पनि कार्यान्वयन हुँदै आएको छ। त्यसैगरी, शिशु स्याहार तथा मन्टेश्वरी तहका कक्षा सञ्चालन अनुमति र अभिलेखनको जिम्मेवारी शिक्षा विभागलाई दिने व्यवस्था लागू गरिएको छ।
दर्ता भएर सञ्चालनमा नरहेका १०७ विद्यालयमध्ये ४२ वटा सम्पर्कमा आएको र तीमध्ये केही सञ्चालनमा तथा केही तयारी अवस्थामा रहेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो। बैठकमा अध्यक्ष डंगोलले विद्यालयहरूको सामाजिक नक्साङ्कन १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिँदै नयाँ शैक्षिक सत्रअघि सबै तयारी पूरा गर्न आग्रह गरिन्। साथै, विद्यालयको बेरुजु घटाउने र शिक्षकहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न पनि उनले जोड दिइन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गुणस्तरीय शैक्षिक नतिजाका लागि प्रविधिमैत्री कार्यक्रम आवश्यक रहेको बताउँदै नयाँ कार्यक्रम तर्जुमा गर्न सुझाव दिइन्। स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले विद्यार्थी भर्ना र नियमित उपस्थिति सुनिश्चित गर्ने कार्यक्रमलाई समान रूपमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।