काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा अब सात दिनसम्मको सेवा विस्तार गर्ने योजना अघि सारेको छ। मौसमजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न यस्तो तयारी थालेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनको पूर्वानुमान नियमित भइरहेको छ। निकट भविष्यमै यसलाई सात दिनको बनाउने र मौसमसम्बन्धी जानकारी सर्वसाधारणको पहुँचमा पुर्याउन छुट्टै मोबाइल एप तथा आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ विकास गर्ने योजना छ।
नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पुर्याइरहेको उल्लेख गर्दै उनले विभागले हाल भूउपग्रह ९स्याटेलाइट०, राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिए।
प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ। यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ। विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उनले बताए। विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरु गरिएको उनले बताए।
सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताए। साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ बनाउने तयारी भइरहेको उनले जानकारी दिए।प्रधानाङ्गले मौसमको सटिक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। हाल देशभरका २ सय ३० वटा जलस्तर मापन केन्द्रमध्ये २ सय ६ वटा स्वचालित भइसकेका छन्।