काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका एक थाई नागरिकदेखि सीमावर्ती क्षेत्रमा सक्रिय लागूऔषध कारोबारीसम्म रहेका छन्।
गए राति थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङ्गयुत थुइओन लाई प्रहरीले टनेल गेटबाट पक्राउ गरेको छ। उनको साथबाट करिब ३ किलो ४ सय ३५ ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको हो। उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ।
त्यस्तै कोशी प्रदेशका विभिन्न स्थानबाट ७३ ग्राम खैरो हेरोइन र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका हुन । झापाको मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट ७३ ग्राम ७ सय ७० मिलिग्राम खैरो हेरोइनसहित सर्लाहीका ३१ वर्षीय सनम बुर्जा मगर पक्राउ परेका छन्। सुनसरीको धरान–१५ स्थित शिखर खाजा घरबाट अजय खड्गी र विशाल राई पक्राउ परेका छन्। उनीहरूको साथबाट ६१० ट्याब्लेट ट्रामाडोल, २९० ट्याब्लेट स्पास्पेन र ३२० ट्याब्लेट डिकोलिक बरामद गरिएको छ।
मोरङको सुन्दरहरैँचाबाट २४ वर्षीय बिपिन दाहाल १.४९ ग्राम खैरोहेरोइन सहित पक्राउ परेका हुन भने विराटनगर जुटमिलबाट २९ वर्षीय मोहन चौधरी ४.६५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट ९ ग्राम ६ सय ५० मिलिग्राम खैरोहेरोइनसहित २४ वर्षीय भीम राना पक्राउ परेका छन्। भारतबाट सु.प.प्र.०१–००८ प९७३० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनी समातिएका हुन्। मोटरसाइकलमा सवार अर्का एक जना भने फरार रहेका छन्।
कैलालीको टीकापुर–९ बाट ३० वर्षीय सागर रावल र १९ वर्षीय जीवन कुँवर २ ग्राम ४ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। उनीहरू सु.प.प्र.०१–००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार थिए।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–९ का २७ वर्षीय देबेन्द्र खत्री १ सय ९० मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजुसहित पक्राउ परेका छन्। प्रहरीले उनको घरमै खानतलासी गर्दा उक्त सामान फेला पारेको हो।
पक्राउ परेका सबै १० जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको छ। प्रहरीले विशेष गरी सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी कडा पारेको जनाएको छ।