काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताएका छन् ।
विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले सो कुरा बताएका हुन् ।फागुन २१ को निर्वाचनमा मौसमले साथ दिँदैन कि भन्ने प्रश्न उठिरहेका बेला मौसमविदहरुले मौसमले असर गर्दैन भनेको आधारमा सरकारले देशभर एकैचरणमा निर्वाचन सम्पन्न गर्न सकेको उनले बताए ।
उनले स्रोत साधनको कमीको बाबजुद पनि मौसम सम्वन्धी अध्ययन र जानकारीहरु उपलब्ध गराइरहेको भन्दै मौसमविदहरुको प्रशंसा गरे । अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धान लाई अघि बढाउँदै मौसम सम्बन्धी सेवालाई प्रभावकारी रुपमा आम नागरिकसम्म पुर्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
उनले मौसम पूर्वानुमान सम्बन्धी सूचना र जानकारी स्थानीय भाषामा पनि सार्वजनिक गर्नुपर्नेमा जोड दिए । आफूले ३४ वर्ष कानुनको क्षेत्रमा बिताएको बताउँदै मन्त्री सिन्हाले जल तथा मौसम विज्ञान विभागलाई आइपर्ने कानुनी अप्ठ्यारा फुकाउन आफू सधैं प्रतिबद्ध रहेको बताए ।