जुम्ला । नेपाल एयरलाइन्सले सोमबार जुम्लामा दुई वटा उडान गर्ने सहमति जनाएपछि एयरलाइन्सको जुम्लास्थित कार्यालयमा लगाइएको ताला खोलिएको छ। दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले कार्यालयमा तालाबन्दी गरेका थिए।
नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सिता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो। त्यसपश्चात् भएको छलफलमा सोमबार दुई वटा उडान सञ्चालन गर्ने प्रतिबद्धता आएको निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले जानकारी दिएका छन् ।
प्रशासनले जुम्लामा नियमित उडान सुनिश्चित गर्न नेपाल एयरलाइन्स र निजी विमान कम्पनीहरूलाई पत्राचार समेत गरेको छ।
नेपाल एयरलाइन्सका महानिर्देशक अमृतमान श्रेष्ठले सोमबारका लागि दुई उडानको प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज स्टेशनलाई यस सम्बन्धमा आवश्यक निर्देशन दिइसकेको छ। नियमित उडानका लागि पहल गर्ने र सोमबार दुई उडान गर्ने सहमति भएपछि कार्यालयको ताला खोलिएको जुम्ला स्टेशन इन्चार्ज उकान्त न्यौपानेले बताउनुभयो।