काठमाडौँ । पछिल्ला दुई दिनदेखि परेको बेमौसमी वर्षाले बाँकेसहित आसपासका क्षेत्रमा इँटा उद्योगमा ठूलो क्षति पुगेको छ। वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा नष्ट हुँदा करिब ८ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीका अनुसार जिल्लाका करिब ७० वटा उद्योगमा राखिएका झण्डै ३ करोड ५० लाख काँचो इँटा वर्षाले बिग्रिएका छन्। उनले एक उद्योगमै करिब पाँच लाख काँचो इँटा नोक्सान भएको जानकारी दिए। व्यवसायीहरूका अनुसार खुला स्थानमा सुकाउन राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन्। कर्णाली क्षेत्रमा हिमपात भएसँगै बाँकेमा परेको वर्षाले इँटा उद्योगमा ठूलो असर पारेको उनीहरूको भनाइ छ। इँटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाका कारण उद्योगीहरू मारमा पर्ने गरेको बताए। उनले काँचो इँटामा बिमा व्यवस्था नहुँदा र सरकारले क्षतिपूर्ति नदिँदा व्यवसायी थप समस्यामा परेको गुनासो गरे।