काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले तीन वटा महत्वाकांक्षी परियोजना अघि सारेको छ।संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभाग प्रमुख रोबिन शेरचनका अनुसार स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने गरी यी परियोजना प्रस्ताव गरिएका हुन्। एनआरएनएको १२औँ एकता महाधिवेशनपछि बसेको बैठकले परियोजना कार्यान्वयनका लागि स्वीकृति दिएको उनले बताए।
एनआरएनए हस्पिटल र केयर होमः प्रस्तावित परियोजनामध्ये ‘एनआरएनए हस्पिटल’ प्रमुख रहेको छ। यो अस्पताल मात्र नभई रिटायरमेन्ट होम, केयर होम र बालमैत्री वातावरणसहितको बहुउद्देश्यीय कम्प्लेक्सका रूपमा विकास गरिने योजना छ। विशेष गरी विदेशमा रहेका नेपालीका अभिभावकको हेरचाहलाई लक्षित गरी परियोजना ल्याइएको हो। शेरचनका अनुसार अन्तर्राष्ट्रिय स्तरको सेवा दिने लक्ष्यसहित अस्पतालमा विदेशी विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधि भित्र्याइनेछ। यो सेवा नेपाली मात्र नभई सबै नागरिकका लागि खुला रहनेछ।
एनआरएनए स्कुलको अवधारणाः दोस्रो परियोजनाको रूपमा ‘एनआरएनए स्कुल’ अघि सारिएको छ। विदेशमा जन्मे–हुर्केका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले यस्तो विद्यालय स्थापना गर्ने योजना बनाइएको हो। यस विद्यालयमा नेपाली पाठ्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिनेछ, जसले भावी पुस्तालाई नेपालसँग जोडिराख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्युतीय डबल डेकर बस सेवाः तेस्रो परियोजना काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारसँग सम्बन्धित छ। ट्राफिक जाम र प्रदूषण न्यूनीकरण गर्न ईभी डबल डेकर बस सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। रिङरोड तथा मुख्य शहरी क्षेत्रमा सञ्चालन गरिने यी बसले सार्वजनिक यातायातलाई व्यवस्थित र विश्वसनीय बनाउने लक्ष्य राखिएको छ। यस विषयमा काठमाडौँ महानगरपालिकासहित सरोकारवाला निकायसँग प्रारम्भिक छलफल भइसकेको शेरचनले जानकारी दिए।
लगानी र कार्यान्वयन मोडलः यी परियोजनाहरू सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडेलमार्फत अघि बढाइने योजना छ। साथै करिब १० अर्ब रुपैयाँ बराबरको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ स्थापना गरी लगानी व्यवस्थापन गर्ने तयारी गरिएको छ। परियोजनाको पहिलो चरणमा सरकारसँग समन्वय गर्दै जग्गा प्राप्ति, अनुमति र कानुनी प्रक्रिया पूरा गरिनेछ। शेरचनले सरकार र सम्बन्धित निकायको सहयोगबिना यस्तो ठूला परियोजना सफल नहुने उल्लेख गरे। एनआरएनएको विश्वास अनुसार, यी परियोजना कार्यान्वयनमा आएमा रोजगारी सिर्जना हुनुका साथै ‘रिटर्न टू नेपाल’ अभियानलाई समेत बल पुग्नेछ।