काठमाडौँ । नियमित उडान नहुँदा आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यालयमा तालाबन्दी गरेका छन्। फागुन २४ गतेदेखि जहाज सञ्चालन नहुँदा समस्यामा परेका सर्वसाधारण र यात्रुहरूले विरोधस्वरूप कार्यालयमा ताला लगाएका हुन्।
यात्रुहरूका अनुसार, अन्य जिल्लामा नियमित उडान भइरहँदा जुम्लामा भने पटक–पटक ‘प्राविधिक समस्या’ देखाउँदै उडान रद्द गरिँदै आएको छ। आइतबार उडान हुने जानकारी पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका थिए। उडान अवरुद्ध हुँदा सबैभन्दा बढी असर बिरामीहरूलाई परेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर पठाइएका गम्भीर बिरामीहरू जहाजको प्रतीक्षामा रहेका छन्। यस्तो अवस्थामा पनि निगमले आवश्यक संवेदनशीलता नदेखाएको यात्रुहरूको गुनासो छ। एक आक्रोशित यात्रुले भने, अन्य ठाउँमा उडान भइरहेको छ, तर जुम्लामा सधैं बहाना बनाएर उडान रद्द गरिन्छ। बिरामीको ज्यान जोखिममा छ, त्यसैले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो। लामो समयदेखि उडान अनियमित हुँदा जुम्लावासीले निरन्तर सास्ती खेप्दै आएका छन्। यात्रुहरूले तत्काल नियमित उडान सुनिश्चित नगरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।