काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी कर्मचारीलाई आन्तरिक पर्यटनमा सहभागी गराउने उद्देश्यले ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ। केही समयदेखि विभिन्न कारणले रोकिएको कार्यक्रम फेरि सञ्चालनमा ल्याइएको हो।
यस कार्यक्रममार्फत जिल्लाका विभिन्न स्थानमा कार्यरत प्रहरी कर्मचारीलाई फरक–फरक क्षेत्रमा पु¥याएर त्यहाँका पर्यटकीय गन्तव्य अवलोकन गराइन्छ। यसले प्रहरीबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, कार्यक्रमअन्तर्गत डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङजस्ता मनोरञ्जनात्मक तथा रचनात्मक गतिविधि सञ्चालन गरिन्छ। साथै, सहभागीहरूलाई चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा पनि सहभागी गराइने गरिएको छ।
कार्यक्रमले प्रहरीलाई मानसिक रूपमा पुनर्ताजगी दिनुका साथै अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने उनले बताए। साथै, छिमेकी जिल्लाका पर्यटकीय स्थलमा पनि भ्रमण गराई भूगोल र स्थानीय अवस्थाबारे ज्ञान बढाउने प्रयास गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनमा करिब ९ सय प्रहरी कर्मचारी कार्यरत छन्। ट्राफिक कार्यालयसहित आठ इलाका र ७३ युनिटमार्फत जिल्लाभर सेवा प्रवाह भइरहेको छ।