वीरगञ्ज। वीरगञ्जको एक प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था अहिले रणमैदानमा परिणत भएको छ । आन्तरिक विवादले परीक्षा रोकिएपछि वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पस अहिले तनावग्र अवस्थामा पुुगेको हो । सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन्।
कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरेका थिए ।क्याम्पसबाट निस्किएको आक्रोशित विद्यार्थीहरूको समूह वीरगन्जको मुटु मानिने घण्टाघर चोकमा पुगेर टायर बाल्दै प्रदर्शनमा गरेका छन् । प्रदर्शनका कारण वीरगन्जको मुख्य सडक दुवैतर्फी रूपमा अवरुद्ध भएको छ भने यातायात पूर्णतः ठप्प बनेका छन्। स्थिति नियन्त्रण बाहिर जान लागेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।