काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। काठमाडौँ, सुनसरी, झापा, कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१० साप्रेढुङ्गाबाट २ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन, ७७ हजार नगद र डिजिटल तराजुसहित सिन्धुलीका २८ वर्षीय चेत बहादुर रम्तेल पक्राउ परेका छन्।
त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–४ बाट २२ वर्षीय मिलन तामाङ र ३३ वर्षीय सुवास राई ३ ग्राम ४९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। सुनसरीकै धरान–१५ ललित टोलबाट २२ वर्षीय पवन सापकोटा ३०५ ट्याब्लेट ट्रामाडोल र ३१० ट्याब्लेट स्पास्पेनसहित समातिएका छन्।
झापाको बिर्तामोडस्थित सिटि होटल एण्ड लजबाट ५१ वर्षीय सन्तोष प्रसाई ४४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
यता कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकमा भारतबाट पैदल आउँदै गरेका भीमदत्त नगरपालिकाका ३६ वर्षीय डम्बर सिंह कुँवरलाई २ ग्राम १७० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१० बाट ५६० मिलिग्राम ब्राउनसुगरसहित २३ वर्षीय बलराम राना पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन्।