काठमाडौं । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन ।
इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ ।
घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान भइरहेको र केही दिनमै टुङगोमा पुगिने बताएको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइलसहित भजाईनल स्वाब परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
हत्या प्रकरणमा जोडिएका अभियुक्तहरूको बयान सकिए पनि उनीहरूले घटनामा इन्कारी बयान दिएका छन् । पक्राउ परेका मध्ये एकले एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् ।
उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तस्राव भएपछि इनिशा बेहोस् भएको बताएको ती अधिकृतले बताए । सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।
ती युवाहरूले दिएको बयान सत्य हो या झूटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ती अधिकृतले बताए । घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगन्जबाट पोल ग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउने प्रहरीले जनाएको छ । घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बुढथापाले बताए । सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।
इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडा खाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।