काठमाडौँ । दुई दिनको वर्षापछि मौसम खुलेपछि ताप्लेजुङका डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन्। मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको थियो। यसैगरी, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि हिउँले सेताम्मे बनेका छन्।
मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ। उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको थियो। वर्षापछि सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेगहरू सेताम्मे बनेका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा, फले र वडा नं ७ को ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ। त्यस्तै, मैवाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के–जलजले क्षेत्र तथा सिदिङ्वा गाउँपालिका तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ। प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार, पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ। हिमपातसँगै जिल्लाका हिमाली बस्तीहरूमा चिसो पनि अत्यधिक बढेको छ। विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्सा जस्ता बस्तीमा चिसो बढेको स्थानीय फुटी शेर्पाले जानकारी दिए।