काठमाडौँ । इरानी सुरक्षा फौजले उदयपुर,गाईघाटका ३० वर्षीय अमृत झालाई हर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको हो ।
परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी शुक्रबार पत्रकार सम्मेलनमा दिएका थिए । यता अमृतकी दिदी पूजा झाका अनुसार अमृत इरानी सेनाको नियन्त्रणमा रहेको ‘भ्वाइस मेसेज’ केही दिनअघि ह्वाट्सएपमा आएको पुष्टि गरेकी छन् ।
पूजाका अनुसार, अमृत दुई वर्षअघि कामको सिलसिलामा दुबई गएका हुन् । उनी त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा काम गर्थे । उनले आफ्नो भाइको यथाशीघ्र रिहाइका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेकी छन् ।