काठमाडौँ । पश्चिम एसियाको युद्धको असरका बीच नेपाल–खाडी हवाई सेवा आंशिक रूपमा सञ्चालनमा आएको छ । हिमालय एयरलायन्स, कतार एयरवेज, फ्लाई दुबई र एयर अरेबियाले सीमित उडान तालिका सार्वजनिक गर्दै यात्रु व्यवस्थापनमा सहजीकरण गरिरहेका छन्।
कतारको हवाई क्षेत्र आंशिक रूपमा बन्द भएपछि कतार एयरवेजले हाल दोहाबाट सीमित ‘सेफ करिडोर’ मार्फत उडान सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीले २८ मार्च २०२६ सम्म सीमित उडान तालिका लागू गरेको छ।
काठमाडौं–दोहा–काठमाडौं रुटमा चार दिनयता दैनिक दुई उडान सञ्चालन भइरहेका छन्, जुन सामान्य अवस्थामा दैनिक तीन उडान थियो। एयरलाइन्सले यात्रुहरूलाई कन्फर्म टिकट बिना विमानस्थल नआउन र सम्पर्क विवरण अद्यावधिक राख्न आग्रह गरेको छ।
कतारले एसिया, युरोप, अमेरिका र अफ्रिकाका दर्जनौं सहरमा सीमित उडान खुला गरेको छ। साथै, केही ‘सिटी–टु–सिटी’ विशेष उडान सञ्चालन गरिए पनि ती प्रत्यक्ष बुकिङका लागि खुला छैनन् । यसैबीच, नेपालको हिमालय एयरलायन्सले दुबईका लागि आफ्नो नियमित उडान सेवा पुनः सुरु गरेको शुक्रबार घोषणा गरेको छ।
यूएईस्थित एयर अरेबियाले पनि सीमित अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्दै काठमाडौंलाई आफ्नो गन्तव्य सूचीमा समावेश गरेको छ। शारजाह, अबुधाबी र रस अल खैमाहबाट सञ्चालन हुने यी उडान १५ अप्रिल २०२६ सम्मका लागि तय गरिएको कम्पनीले जनाएको छ। दक्षिण एसिया, युरोप र अफ्रिकाका विभिन्न सहरसँगै काठमाडौंमा पनि उडान सञ्चालन भइरहेको छ।
एयरलाइन्सले रद्द भएका उडानका यात्रुहरूलाई एकपटक निःशुल्क मिति परिवर्तन, क्रेडिट भौचर वा पूर्ण फिर्ता रकमको विकल्प दिएको छ। फेलाई दुबईले पनि मंगलबारदेखि रोकिएका उडान सञ्चालन गरेको छ ।