काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुरीसहित भारी वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागले असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिए ।
हावाहुरी र असिना पानी परेको समयमा सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उनले आग्रह गरे ।
विभागका अनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा हुने अनुमान अनुसार वर्षा भइराखेको छ ।
विभागका प्रवक्ता विभूति पोखरेलले तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गरे ।