काठमाडौँ । फागुन महिनामा देशभर भएका ५०२ वटा विपद्का घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको फागुन महिनाको तथ्याङ्क अनुसार आगलागी, पहिरो, चट्याङ, जनावर आक्रमण, महामारी, हावाहुरी, हिमपात, शीतलहर, अविरल वर्षा, लेक लाग्ने, भूकम्प र सर्पदंश लगायतका सबै प्रकारका प्राकृतिक तथा गैर–प्राकृतिक लगायतका घटनाबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको हो।
विपद्का कारण देशभर १८ जनाको मृत्यु भएको छ, जसमा ५ पुरुष, ९ महिला, २ बालक र २ बालिका रहेका छन्। यस्तै, विभिन्न घटनामा परी १२४ जना घाइते भएका छन्। घाइते हुनेमा पुरुष र महिलाको संख्या समान ५३–५३ जना छ भने १० बालक र ८ बालिका रहेका छन्।
तथ्याङ्क अनुसार विपद्का कारण देशभर ५० परिवार विस्थापित भएका छन्। भौतिक क्षतितर्फ ७४ वटा घर र ३५ वटा गोठमा क्षति पुगेको छ। यस्तै, १०६ वटा चौपायाको क्षति भएको प्रहरीले जनाएको छ।
फागुन महिनामा भएका यी विपद्का घटनाबाट कुल १५ करोड ९१ लाख ५० हजार ३६० रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
कुन प्रदेशमा कति घटना?
विपद्का घटनाको प्रदेशगत विवरण हेर्दा सबैभन्दा बढी कोशी प्रदेश प्रभावित देखिएको छ भने सबैभन्दा कम घटना कर्णाली प्रदेशमा भएका छन ।
कोशी प्रदेशः १४३ घटना
मधेश प्रदेशः १०६ घटना
गण्डकी प्रदेशः ६३ प्रदेश
बागमती प्रदेशः ५२ घटना
लुम्बिनी प्रदेशः ५२ घटना
सुदूरपश्चिम प्रदेशः ४२ घटना
काठमाडौँ उपत्यकाः ३५ घटना
कर्णाली प्रदेशः १८ घटना
विपद्का घटनालगत्तै उद्धार र राहत कार्यका लागि देशभर ३ हजार ३ सय ७७ प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
