काठमाडौँ । रारा ताल भ्रमणका लागि आएकी काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरेको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाका अनुसार, घिमिरे शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भइन्। उनी चैत ३ गते आफ्ना दुई साथीहरूसँग रारा भ्रमणका लागि मुगु आएकी थिइन्।
साथीहरू शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) बाँके जिल्ला निवासी रहेका छन्। तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए।रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उनलाई जिल्ला अस्पताल ल्याइएको थियो। मृतकसँगको सम्पर्क हालसम्म परिवारसँग हुन सकेको छैन। उनको परिचय खुल्ने मोबाइल र अन्य सामान भने होटलमै सुरक्षित रहेको छ। जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा। निर्मल नगरकोटीका अनुसार, मृतकको लेक लागेर मृत्यु भएको अनुमान गरिएको छ। तथापि, वास्तविक कारण पोष्टमाटम रिपोर्टपछि मात्र पुष्टि हुने जानकारी दिइएको छ।