काठमाडौँ । नेपाल जेनजी फ्रन्टले माइतीघर मण्डलामा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको कडा निन्दा गरेको छ। भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको आक्रमण फ्रन्टले स्वीकार्य नभएको स्पष्ट पारेको छ।
शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले भनेको छ, शान्तिपूर्वक भेला हुने र विचार व्यक्त गर्ने संवैधानिक अधिकारमाथि गरिएको आक्रमण सभ्य लोकतान्त्रिक समाजमा सह्य हुँदैन। विज्ञप्तिमा सहिद परिवार र घाइतेहरूको पीडा, आक्रोश र प्रश्नहरूलाई सम्मान गरिने भए पनि आन्दोलनकारीहरूबीच हुने यस्ता आक्रमणले आन्दोलन कमजोर हुने चेतावनी दिइएको छ। फ्रन्टले स्पष्ट पारेको छ, यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ। राज्यले सत्य लुकाएर बसेको अवस्थामा एक आन्दोलनकारीमाथि दुर्व्यवहारले आन्दोलनलाई थप कमजोर बनाउनेछ। साथै, विज्ञप्तिमा संयोजक बमको राजनीतिक अडान र इमानदारीको पनि बचाउ गरिएको छ। बमले आन्दोलनको अनुशासन कायम राख्ने, अनधिकृत प्रवेशको विरोध गर्ने र निर्वाचित राष्ट्रपतिसँग मात्र छलफल गर्ने अडान लिएको स्मरण गराइएको छ। फ्रन्टले जनाएको छ कि यस्ता घटनाले आन्दोलनको प्रतिबद्धता र मनोबलमा कुनै असर नपर्नेछ र बमले एक्लै भए पनि सही मुद्दा बोकेर लड्ने साहस देखाएकी छिन्।