काठमाडौँ । पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ आयोजना हुँदैछ। नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना रहेको यो सम्मेलन चैत २७–२८ मा रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने जनाइएको छ।
दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग भन्ने मुख्य नारासहित हुने सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले प्रस्तुत गर्ने लक्ष्य राखेको छ। सम्मेलनमा नेपालसहित १० भन्दा बढी देशका प्रतिनिधि र १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रममा पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनका प्रभाव जस्ता विषयमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिनेछ। साथै विद्यार्थीहरूको क्षमता विकासका लागि ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ आयोजना हुने र उत्कृष्टलाई पुरस्कृत गरिने व्यवस्था गरिएको छ। २५ वर्षभन्दा बढी अनुभव भएका पशु चिकित्सकहरूलाई विशेष सम्मान तथा राष्ट्रिय पुरस्कारहरू प्रदान गरिने कार्यक्रम पनि रहनेछ। सम्मेलन स्थलमा पशु स्वास्थ्य, औषधि, खोप, आहार र आधुनिक प्रविधिसँग सम्बन्धित प्रदर्शनी स्टल राखिनेछ, जहाँ सहभागीहरूले नवीनतम प्रविधि र व्यवहारिक अभ्यासबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। नेपाल सरकारका विभिन्न निकाय, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठननेपाल भेटेरिनरी काउन्सिल र अन्य पेशागत संघ संस्थाहरूले सम्मेलनलाई सहयोग गरेका छन्।