काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने घोषणा गरेका छन्। अब मन्त्रालयमा मन्त्रीस्तरका निर्णयहरूमा सरिक हुन उपयुक्त नहुने भन्दै उनले आफु विदा भएको सङ्केत गरेका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ। उक्त प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ। जसका कारण संविधान २०७२ को धारा ७६(१)अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो ।
खनालले नयाँ सरकार गठन भएपछि आफूले सम्हालिरहेका अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी स्वतः समाप्त हुने बताएका छन्। उनले २०८२ भदौ ३० देखि अर्थ मन्त्रालय र असोज ७ देखि संघीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए, र चुनौतीपूर्ण परिस्थितिबीच आफ्नो कार्यकाल सुरु भएको स्मरण गरेका छन्। शासन प्रणालीका कमजोरी र भ्रष्टाचारविरुद्ध उठेका आन्दोलनपछि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरे।
फागुन मसान्तसम्म कुल ८२८ वटा निर्णय गरिएको उनले जानकारी दिए। तीमध्ये २७ वटा कागजी प्रक्रियाबाट र बाँकी सबै डिजिटल माध्यमबाट गरिएको उनले बताए।