काठमाडौँ। जिल्लाको अत्यन्तै दुर्गम मानिने हिमाली गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट विभिन्न रोगका करिब एक हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्।
दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको उक्त शिविरबाट गाउँपालिकाका सातै वडाका बासिन्दा लाभान्वित भएका हुन्। धुलाचौर, कुवाडी र बिच्छ्या गरी तीन स्थानबाट सेवा प्रदान गरिएको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार शिविरमा विशेषगरी पाठेघरसम्बन्धी समस्या भएका पाँच सयभन्दा बढी महिलाको उपचार गरिएको छ। साथै १४८ जनाको दम, मुटु, मिर्गौला तथा मधुमेह परीक्षण गरिएको र नसर्ने रोगहरूको स्क्रीनिङ पनि गरिएको थियो। यसैगरी ६२ जनामा भिआईए परीक्षणमार्फत पाठेघरको क्यान्सरको सम्भावना जाँच गरिएको छ भने पाठेघर खसेका महिलालाई आवश्यक उपचार सेवा प्रदान गरिएको थियो। साथै १४ जनामा क्षयरोगको प्रयोगशाला परीक्षण गरिएको जनाइएको छ। हिमाली गाउँपालिका–५ कुवाडीमा मात्र २६६ जनाले नसर्ने रोगको जाँच गराएका छन् भने ३८ महिलाले पाठेघर क्यान्सरसम्बन्धी परीक्षण र ४८ जनाले निःशुल्क ल्याब सेवा लिएका छन्।
दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यस्तो शिविर निकै उपयोगी सावित भएको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ। सबै वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना गरिनुका साथै धुलाचौर, पाँडी, बोर्ता, क्युडी, बाम, गुम्बा लगायतका स्थानमा गरी १४ वटा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन्। स्थानीय बासिन्दा, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाले अब सामान्य स्वास्थ्य सेवा आफ्नै गाउँमा पाउने व्यवस्था गरिएको छ। गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लका अनुसार स्वास्थ्य क्षेत्रसँगै अन्य विकासका क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ र हिमाली गाउँपालिका जिल्लाकै नमुना गाउँपालिकाको रूपमा परिचित बन्दै गएको छ।
गाउँपालिकाले हरेक वर्ष यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यस वर्षको शिविर हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको हो, जसमा कोल्टी आधारभूत अस्पतालका प्रमुख एमडिजिपि डाक्टर रञ्जितकुमार साहसहित स्वास्थ्यकर्मीको टोली गाउँ–गाउँ पुगेर सेवा दिएको थियो। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकका लागि यस्ता शिविर प्रभावकारी सावित हुँदै आएका छन्। गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषमार्फत यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ।