काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद सचिवालयले सार्वजनिक सूचना जारी गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।
शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो लिएर आउन सचिवालयले आग्रह गरेको छ ।
शपथको लागि सांसदहरूले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची ३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
सचिवालयले सबैजनलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ । संसद् सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ ।

