काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ। संघीय संसद् सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।
दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उनले बताए । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए ।
त्यस्तै नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरणका लागि समेट्नुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए ।