काठमाडौँ । इरानले खाडी क्षेत्रमा अमेरिकी समर्थित “तेल तथा ग्यास प्रशोधन संयन्त्र” माथि आक्रमणको चेतावनी दिएपछि, साउथ पार्स ग्यास क्षेत्रमाथि हवाई हमला भएको छ। यसपछि मध्यपूर्वका मुलुकहरूमा रातभर आक्रमण जारी रह्यो।
साउदी अरब सबैभन्दा बढी प्रभावित भएको छ। साउदी रक्षामन्त्रालयले राजधानी रियाद र पूर्वी क्षेत्रमा १७ ड्रोन र २ ब्यालेस्टिक मिसाइल खसालिएको र सबैलाई निष्क्रिय पारिएको जनाएको छ। कतारले आफ्नो रास लाफ्फान ऊर्जा संयन्त्रमाथि बुधबार भएको इरानी प्रत्याक्रमणपछि बिहीबार बिहान पुनः हमला भएको बताएको छ। यसमा केही भौतिक क्षति भए पनि जनधनको हानी भएको छैन। संयुक्त अरब इमिरेट्सले बिहीबार बिहान ३ः३० बजे हवाई रक्षा प्रणालीले मिसाइल अवरोध गरेको र युद्धक विमानहरूले ड्रोनहरूलाई रोकिरहेको जानकारी दिएको छ। बहराइनले रातभर तीन पटक चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित स्थानमा बस्न अपिल गरेको छ भने कुवेतले पनि “शत्रुतापूर्ण मिसाइल तथा ड्रोन आक्रमणको सामना” गरिरहेको जनाएको छ। विशेषज्ञहरूले चेतावनी दिएका छन् कि इरान, अमेरिका र इजरायलबीच बढ्दो तनावले खाडी क्षेत्रको हवाई सुरक्षा चुनौती बढाएको छ। अन्तर्राष्ट्रिय उड्डयन र ऊर्जा आपूर्ति समेत प्रभावित हुन सक्ने खतरा रहेको छ।