काठमाडौँ । कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिका कृषि शाखाको आयोजनामा र परियोजनाको सह–आयोजनामा सम्पन्न सो मेलाले स्थानीय बाली संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाएको छ।
‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ कार्यक्रममा कृषकहरूले उत्पादन गरेका रैथाने बाली, विभिन्न विउविजन, परम्परागत खाद्य परिकार र निगालोबाट बनेका सर(सामाग्री प्रदर्शनीमा राखिएका थिए। मेलाले अग्रणी उत्पादनको उत्पादन, प्रशोधन र बिक्रीमा सहजता ल्याउने विश्वास लिइएको छ। गाउँपालिका कृषि शाखा प्रमुख विनोद शाहीका अनुसार यस प्रकारका कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्ने, स्थानीय उत्पादनको पहिचान बढ्ने र कृषि व्यवसायतर्फ कृषकहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा महिला देउडा, नृत्य र विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। उत्कृष्ट प्रदर्शनी गर्ने कृषकलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढाले कार्यक्रममा बोल्दै पालिकामा कृषि उत्पादनमा जोड दिइ आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताइन्। उनले कृषकलाई तालिम, विउविजन उपलब्ध गराइने र कृषि क्षेत्रको लागि बजेट विनियोजन भइरहेको जानकारी दिइन्। कार्यक्रममा उपाध्यक्ष, वडाअध्यक्ष, विभिन्न सरकारी तथा राजनीतिक प्रतिनिधि, कृषक र पत्रकारहरूको सहभागिता रहेको थियो।