काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ। आयोगका अनुसार बिहान ११ः३० बजे समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम सम्पन्न भएपछि दिउँसो राष्ट्रपतिलाई निर्वाचनको समग्र प्रतिवेदन बुझाइने जनाइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा समेटिएको उक्त प्रतिवेदन औपचारिक रूपमा राष्ट्रपतिसमक्ष पेश गरिन लागिएको हो। यसैबीच, प्रतिवेदन बुझाइसकेपछि आयोगले साँझ ५ः३० बजे काठमाडौंस्थित केन्द्रीय कार्यालयको मिडिया सेन्टरमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। आयोगले समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्ने मार्ग प्रशस्त हुने बताइएको छ।