काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौँ’ घोषणा गर्ने तयारीसँगै आवश्यक संरचना र व्यवस्थापनका विषयमा छलफल गरेको छ। मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा मानव सेवा आश्रमका प्रतिनिधिसँग बैठक बसेको हो।
छलफलमा डंगोलले घोषणा गर्नु मात्रै पर्याप्त नभई त्यसलाई दिगो बनाउने चुनौती झन् ठूलो हुने बताइन्। उनले कानुनी, प्रशासनिक र व्यवहारिक पक्ष सुदृढ गर्दै समन्वय र सहजीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले हालसम्म हासिल उपलब्धिलाई जोगाउने गरी आगामी कार्यक्रम बनाउनु आवश्यक रहेको उल्लेख गरिन्। महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार र आश्रममा व्यवस्थापन गर्ने काम निरन्तर भइरहेको जानकारी दिए। महानगरपालिकाले २०७४ सालदेखि मानव सेवा आश्रमसँग सहकार्य गर्दै सडक आश्रितहरूको व्यवस्थापन गर्दै आएको छ। आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार हालसम्म २ हजार ९१९ जनाको उद्धार गरिएको छ।
तीमध्ये ७१३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ३३६ जनालाई समुदायमा पुनःस्थापना गरिएको छ। अहिले २६८ जना आश्रमकै संरक्षणमा रहेका छन्। महानगरले यस कार्यका लागि हालसम्म २ करोड ८४ लाखभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराइसकेको छ। साथै, उद्धार कार्यका लागि सवारी साधन तथा आवश्यक समन्वयसमेत गर्दै आएको छ। छलफलमा घोषणा पछि आवश्यक उच्चस्तरीय संयन्त्र, नियमित अनुगमन, स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा उद्धार टोलीको क्षमता विकास जस्ता विषयमा पनि जोड दिइएको थियो। महानगरले सडक आश्रितमुक्त सहरको लक्ष्य हासिल गर्न संस्थागत र दिगो प्रणाली विकास गर्दै अघि बढ्ने जनाएको छ।