काठमाडौँ । प्लास्टिकको अत्यधिक प्रयोग र फोहोर व्यवस्थापन कमजोर भएकाले वर्षौंदेखि दुर्गन्धले थिचिएको धनगढी अहिले फरक देखिएको छ। धनगढी उपमहानगरपालिकाको कडा नीति र नागरिक सचेतनाको कारण शहरका सडकहरू अब हरियाली र सफा देखिन्छन्।
स्थानीयहरूले तीन–चार वर्षअघि जताततै प्लास्टिक र फोहोर देखिन्थ्यो भने अहिले डस्टबिन राखिएको, फोहोर सडकमा नफ्याँक्ने बानी विकास भएको बताएका छन्। रामप्रसिंह कार्की भन्छन्, “प्लास्टिक देखिन छाडेपछि धनगढीको मुहार नै बदलिएको छ। विद्यार्थी ईश्वर पाठकका अनुसार, सुधारिएको वातावरणले सहरको सौन्दर्य मात्र बढाएको छैन, जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको छ। धनगढी उपमहानगरपालिकाले प्लास्टिक झिल्ली, प्लेट, गिलास, माला जस्ता सामाग्रीमा पूर्ण प्रतिबन्ध लगाएको छ। वातावरण अधिकृत अशोकराज अवस्थीका अनुसार, चालु आर्थिक वर्षमा मात्र लुकिछिपि प्लास्टिकका १०५ किलो जफत गरिएको छ। व्यापारी र उपभोक्तामा चेतना बढ्नको कारण कडा कारबाही र जरिवानाले भूमिका खेलेको छ। धनगढीले फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोतमा पनि रूपान्तरण गरेको छ। वार्षिक ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी फोहोर व्यवस्थापनबाट भइरहेको छ, जसको ९० प्रतिशत स्रोतमै वर्गीकरण हुन्छ। तर, केही चुनौतीहरू अझै कायम छन्। अवस्थीका अनुसार, खुला सीमाबाट भारतबाट भित्रिने सस्तो प्लास्टिक र छिमेकी पालिकामा प्लास्टिक प्रतिबन्ध नराखिएको कारण पूर्ण रूपमा लागू गर्न कठिनाइ भइरहेको छ। साथै, पहाडी क्षेत्रबाट आयात हुने तरकारी र फलफूलमा प्रयोग हुने प्लास्टिक धनगढीमा थुप्रिने समस्या समेत रहेको छ।