काठमाडौँ । पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार सम्बन्धी मुद्दा स्थगित भएको छ ।
कास्कीको लिचिबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
गुप्ताको निवेदन मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । गुप्ताको कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेसँगै लिचिबारी घुस प्रकरणसँग जोडिएका अन्य दुई वटा मुद्दा लगाउका कारण स्थगित भएको छ ।
गुप्तासँगै पूर्वमन्त्री रन्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
श्रेष्ठ र अधिकारीलाई विशेष अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि सो आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेरितको आदेश बदरको माग गर्दै सर्वोच्च पुगेको थियो ।यसअघि सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो ।