काठमाडौँ । हाल नेपालको मौसमी प्रणालीमा आएको परिवर्तनका कारण देशका विभिन्न प्रदेशहरूमा वर्षा र हावाहुरीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो अपडेट अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले मौसम सक्रिय रहेको छ। कोशी प्रदेशको माछुवाघाट र मुल्घाट तथा लुम्बिनी प्रदेशको जल्पा आसपासका क्षेत्रमा अहिले मध्यम स्तरको वर्षा भइरहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका अन्य केही स्थानहरूमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। गण्डकी प्रदेशबाट विकसित भएको यो मौसमी प्रणाली बिस्तारै पूर्वतिर सर्ने क्रममा काठमाडौँ उपत्यका सम्म आइपुगेको छ। यसका कारण अहिले उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र तीव्र गतिको हावाहुरी सहित वर्षा भइरहेको छ।
यो मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गइरहेको हुनाले आगामी केही घण्टामा पूर्वी नेपालका क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना छ। विशेष आग्रहः हावाहुरी र चट्याङबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ। विशेषगरी खुल्ला ठाउँमा नबस्न र बिजुलीका सामानहरू प्रयोग गर्दा सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।