काठमाडौँ । नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौँस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। आइतबार रातोपुल र भृकुटीमण्डपस्थित कार्यालयमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो।
तालाबन्दीमा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको उपस्थिती थियो। कार्यालयमा मागहरू समेटिएको प्रेस विज्ञप्ति समेत टाँसिएको थियो। विज्ञप्तिमा महासंघका अध्यक्षबाट विधानविपरीत गतिविधि, एकलौटी निर्णय, संस्थागत प्रक्रिया बेवास्ता र निजी कम्पनीझैँ सञ्चालन भइरहेको आरोप लगाइएको छ। पदाधिकारीहरूले कार्यसम्पादन समितिको बैठक आवश्यक प्रक्रिया र पर्याप्त सूचना बिना बोलाइएको, भर्चुअल बैठकमा सहभागी नभएका सदस्यलाई समेत गणना गरी निर्णय गरिएको र महासचिवको अधिकार कटौती गरिएको दाबी गरेका छन्। चार प्रदेश महासंघको सुझाव बेवास्ता गर्दै बुटवललाई अधिवेशन स्थल तोकेको पनि आरोप छ।
त्यस्तै सदस्य संस्थाहरूको नवीकरण समयअघि बन्द गरिएको, १०० भन्दा बढी संस्थालाई वञ्चित गरिएको र आफूअनुकूल संस्थालाई मात्र समेटेर अधिवेशन गर्ने तयारी भएको दाबी गरिएको छ। निर्वाचन समिति समयमै गठन नगरी हस्तक्षेप गरेको, सुदूरपश्चिम प्रदेश महासंघको बैंक खाता रोक्का गरिएको र संस्थागत स्रोत–साधनको दुरुपयोग भएको विषय पनि उठाइएको छ। उपाध्यक्ष अनिता घिमिरेले संस्थालाई कुनै व्यक्तिको नियन्त्रणमा राखेर सञ्चालन गर्न नहुने भन्दै सबै सदस्य संस्थाको नवीकरण सुनिश्चित गरी निष्पक्ष अधिवेशन गर्नुपर्ने माग राखिन्। महासचिव सुगम पोखरेलले आन्दोलन थप सशक्त बनाइने र आवश्यक परे सातै प्रदेशमा पनि तालाबन्दी गर्न सकिने संकेत गरेका छन्। पदाधिकारीहरूले अध्यक्षको तत्काल राजीनामा, विधानविपरीत निर्णय खारेज र सबै सदस्य संस्थाको सहभागितासहित निष्पक्ष निर्वाचन सुनिश्चित गर्न स्वतन्त्र तदर्थ समिति गठन गर्न माग गरेका छन्।