कैलाली । मुख्यमन्त्रीले आफुलाई घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले आफुलाई घस मागेको भन्दै एउटा सञ्चार मााध्ययमलाई अन्तरवार्ता दिएका थिए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पत्रअनुसार भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए र सोही आधारमा भट्टलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जनाएको छ । केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।
अन्तर्वार्तापश्चात उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै कृष्णदत्त भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमा आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको भन्दै भट्टमाथि कारबाहीको माग गरेका थिए ।